नेपाली कन्सल्टेन्सी ब्यावसाय र मानब तस्करी

बिक्रम सुबेदी

चार बर्षअघि अष्ट्रेलिया आएर स्नातक तह पढिसकेर काम गर्न शुरु गरेको किरणले, नेपाली कन्सल्टेन्सीलाई टि. आर. लज गर्न डकुमेन्ट्स पठाउंछ। कन्सल्टेन्सीले भीजा सकिनु अगाडी भीजा लज त गर्दिन्छ तर ढिला (पढाई सकेको ६ महिना काटेपछि) । भीजा लज गरेको केही महिनापछि कन्सल्टेन्सीबाट फोन आउंछ, अनि उस्लाई थाहा हुन्छ, उस्को भीजा ढिला लज भएको र रिजेक्ट हुने सम्भावना भएको । कन्सल्टेन्सीले भन्छ- आत्तिनु पर्दैन, हामीलाई आठहजार डलर दिनुस्, हामी मिलाईदिन्छौं । डरले आत्तिएको उस्ले तुरुन्तै आठहजार बुझाउंछ र बस्छ ढुक्क भएर । पटक-पटक फोन ईमेल, गरेको हुन्छ उस्ले तर जवाफमा प्रोसेसिन्ग भैरहेको भन्ने जवाफ पाउंछ । त्यसपछि, एकदिन ऊ पुग्छ कानुनी सल्लाह लिन र थाहा पाउंछ भीजा रिजेक्ट भएको कुरा । एप्लिकेसन् ढिला लज गरेकाले, भीजा रिक्वाएरमन्ट्स नपुगेको भन्दै गत सेप्टेम्बरमा भीजा रिजेक्ट भैसकेको हुन्छ । भीजा रिजेक्ट भएको ईन्फर्मेसन् उस्ले ५ महिनासम्म पाएको हुंदैन, अहिले आएर ऊ अष्ट्रेलियामा ईलिगल भैसकेको हुन्छ।

पांच बर्षअघि बिद्यार्थी भीजामा सिड्नीमा आएको एक जोडी, सन्दिप र पुर्णिका । नेपालबाटै कन्सल्टेन्सिको परामर्शमा, बुटवलको धनाढ्य परिवारको सन्दिपको खर्चमा पुर्णिकाको डिप्लोमा र ब्याच्लर अफ नर्सिंग पढ्न बिबाहित् (कागजीरुपमा) भएर आएको यो जोडीको बिद्यार्थी भीजा सकिएर, त्यसपछि पाएको काम गर्ने भीजा सकिने क्रममा छ । सन्दिपले आंफुले खर्च बेहोरेर ल्याएको र यतापनि आधाभन्दा बढी फी तिरीदिएकोले संगै पी आर् लज गर्नुपर्ने माग राखेका छन् भने पुर्णिकाले सन्दिपले ईंग्लिस् मा राम्रो स्कोर् ल्याउन नसक्ने भएकोले आंफुले धेरै मेहनत गरेर पी आर् को लागी पोईन्ट्स् जोड्नुपर्ने बाध्यता रहेको बताऊंछिन् । यदि पि आर लज गर्नु अघि नै मिलिमतोमा पारपाचुके भएमा आंफुले, सिंगल भएको आधारमा छिटो पि आर् हुने र उमेर पनि ३० पुग्न लागेकोले विवाहको लागी घरबाट कर गरिरहेकोले, समयमै बिहे गर्नुपर्ने जीकिर छ उनको । सन्दिपले नमानेको खण्डमा नेपाल फर्केर अंशवण्डाको लागी लड्ने धम्की समेत दिएकी छन् उनले । सन्दिपले भने, कन्सल्टेन्सिलाई भारी रकम बुझाएकोले उनिहरुले नै सबै कुरा मिलाउनुपर्ने माग राखेका रहेछन् ।

असी लाख तिरेर ३ बर्ष अघि कलाकारहरुसंग ईन्टर्टेन्मन्ट भिजामा अष्ट्रेलिया भित्र्याईएका जेम्सलाई यता आएर नक्कली डकुमेन्ट्सको आधारमा लज गरेको काम गर्ने भीजा रिजेक्ट भएर, मात्र अष्ट्रेलियामा बस्नको लागी केही समय पाउने आशमा लडिरहेको कोर्ट केस् महंगो र अप्ठ्यारो हुंदै जांदा अब के गर्ने भनि ईन्तु न चिन्तुको अवस्थामा रहेको बताउंदछन् । नेपाल फर्केर जाऊं, ऋण बांकी छ। यता बसौं, बस्ने खाने र कानुनी खर्च पुर्याउन पनि गार्हो छ ।आजभोली त मानसिक तनावले विरामी भएर औषधीमुलोको खर्च समेत थपिएको , काम गर्ने समय घटेको छ भन्छन् जेम्सले ।

किरण, जेम्स्, सन्दिप र पुर्णिका जस्ता प्रतिनिधी पात्रहरुका कथाहरु त केवल अष्ट्रेलियाको नेपाली समुदायभित्र रहेका केही दृष्टान्त मात्र हुन् । भित्रभित्रै गुम्सिएर रहेका कथाहरु कति छन् कति । हरेक कथाभित्र अनेकौं समस्याहरु जकडिएर रहेका छन् । सायद्, घडिको सुईरो घुमाएर समयलाई पछाडी लान मिल्ने भए, यी सवै पात्रहरुले नयां तरिकाले नयां जीवनको शुरुवात गर्थे होलान् । विडम्बना ! पश्चातापको रांकोभित्र जल्नुबाहेक अरु उपाय नभएपछि आफ्नै भाग्यलाई दोष दिंदै बसेका छन्, यिनीहरु ।

उच्च शिक्षा हासिल गर्ने, समयको माग र आफ्नो इच्छा अनुसारको जीवन पद्दति अंगाल्ने अनि मनग्ये धन कमाउने सपनासहित थोरैमात्र सोधखोज र धेरै आशाका सपना बोकेर एउटा अन्जान र अपरिचित गन्तब्य प्रवेश हुन्छ। यस्तो लाग्छ, मातृभूमि नेपाल, आफ्ना परिवार अनि साथीभाईलाइ चटक्कै छोडेर यता आउने सबैजसोको यथार्थ यही हो।

अस्ट्रेलिया जाने भनेर सोच बनेको दिनदेखि, नेपालबाट नै सुरु हुन्छ- कन्सल्टेन्सी धाउन। १८- २० बर्षको अब्यबाहरिक र अपरिपक्व दिमागलाई अफर लेटर, सी ओ ई, एन् ओ सी जस्ता २-४ वटा शब्द, अनि ब्यानरमा टासिएका केहि भिजा सफल भएका बिद्यार्थीहरूको फोटोको आकर्षण। त्यहीबाट शुरु हुन्छ, ठगी धन्दा अनि फस्छन् हजारौं जोखिमयुक्त युवाहरु । नेपालमा मात्रै नभएर , रमाउने र कमाउने लोभमा लालायीत यूवा, अष्ट्रेलिया जस्तो देशमा आएर समेत आफ्नै देशका बिचौलियाहरुबाट ठगिन पुग्छन् ।

अल्पसंख्यक बिद्यार्थीले मात्र पाउने गर्छन, आफुले चाहेको बिषय पढ्न। धेरैजसो बिद्यार्थीले कन्सल्टेन्सीले रोजेको बिषय र उनीहरुले नै रोजेको कलेजमा भर्ना लिन्छन किनकि उनीहरुलाई आश र डर दुवै देखाइन्छ। भीजा लगाइदिने आस र नमानेमा भीजा बिग्रने त्रास ।

नेपालमा चोकैपिच्छे खोलिएका कन्सल्टेन्सी र यतापनि आजभोली आकर्षित व्यावसायको रुपमा मौलाईरहेको यो ब्यावसायलाई प्रतिकुल बनाउने काम यसै क्षेत्रमा छिरेका केही डलरपिपासुहरुले गरिरहेका छन् । व्यावसायबाट आर्थिक लाभ लिनेमात्र हैन सेवा दिनुपर्छ र त्यो पनि कानुनी परिधीभित्र रहेर । छोटो समयमा नै मिलिनियर बन्ने आकांक्षा लिएर आएका केही धनमुखी बिचौलियाहरुले अनाधिकृतरुपमा अबैध कामहरु गर्नाले यस प्रोफेसनलाई बाहिरबाट हेर्ने दृष्टिकोण र सम्पुर्ण नेपाली समुदायलाई अष्ट्रेलियन् अध्यागमनले हेर्ने दृष्टिकोणमा भारी गीरावट नहोला भन्न सकिन्न । जस्को प्रतक्ष्य र अप्रतक्ष्य असर फेरी नेपाली समुदायमाथी नै पर्न जाने कुरामा दुईमत नहोला । यस्ता कार्यले जेनुईन् तरिकाले माईग्रेसन् ईन्डष्ट्रीमा काम गरिरहेका प्रोफेसनलहरु र गर्न ईच्छुक, आकांक्षीहरुलाई एकपटक गहिरिएर सोच्न बाध्य बनाएका छन् ।

ठग्ने र ठगिने क्रम त्यतिबेलासम्म चलिरहन्छ, जवसम्म आबेदकहरु आंफै सचेत हुदैनन् अनि जस्ले जानेबुझेका छन्, उनिहरुले समाजलाई सचेत गराउनुपर्ने आफ्नो दायीत्व ईमान्दरिताका साथ पुरा गर्दैनन् । धेरैजसो कन्सल्टेन्सीले कानुनी परिधीभित्र रहेर काम गरेता पनि गैरकानुनी काम गर्नेहरु र ईमिग्रेसनका कमजोर कडिहरुको गलत फाईदा उठाएर मानव तस्कर गर्ने गिरोहहरु पनि यो ब्यासायमा संलग्न रहेको कुरालाई नकार्न सकिन्न । माईग्रेसन ईण्डष्ट्रिमा काम गरिरहेका कन्सल्टेन्सीहरुका आफ्ना दु:खका र बाध्यताका कथाहरु पनि होलान्, तिनलाई फेरी कुनै दिन चर्चा गरौंला। यो सेवा दिने र मेवा कमाउने क्षेत्र भएकाले सेवाग्राहीका समस्या नै ठुला र मुख्य हुन्छन् ।

बिशेसत: नेपालीहरु ठगिने र अप्ठ्यारोमा पर्ने केही कारणहरु यी हुन् :

१. विद्यार्थीको कमजोरी

बिना जानकारी, साथीभाईको लहैलहैमा लागेर, कुनै खोज अनुसन्धानविना र हचुवाको भरमा, मात्र अष्ट्रेलियाको जीवनपद्यतिसंग लालायीत भएर सम्पुर्णरुपमा कन्सल्टेन्सीको भर पर्नु ।

२. नक्कली कागजातहरुको बिगबिगी

केही कन्सल्टेन्सीहरुले यतिसम्म त्रास देखाईदिन्छन् की सायद् ती बिद्यार्थी या अस्थाई भीजाहोल्डरहरुको अव कुनै भविष्य नै छैन । ” गर या मर” को अवस्थामा पुर्याउने अनि भनेजति रकममा बार्गेनिडं गर्ने नक्कली कागजात वनाईदिने र लुट्ने । यसो गर्दा कतिपयको डुंगा त तर्छ धेरैको भने विचमै डुब्न पुग्छ। भीजा रिफ्युजल , क्यान्सिलेसन् र क्रिमिनल अफेन्सजस्ता समस्याहरु आईलाग्छन् जस्ले गर्दा यिनको समय र धनको बर्बाद त हुन्छ नै मानसिक तनावको शुरुवात् मात्र हैन मानसिक रोगी नै हुन पुग्छन् भने केही त सदाका लागी अष्ट्रेलियाबाट निस्कासित नै हुन्छन् ।

३. अस्थीर माईग्रेसन् नीति र नियमावली

अष्ट्रेलियाको माईग्रेसन् नियम परिवर्तनशील छ । हरेक तीनदेखी छ महिनामा केही न केही नियम परिवर्तन भैरहेको हुन्छ । नेपाली समुदायबाट अत्याधिक संख्यामा आबेदन् दिईने भीजाहरुमा जनरल स्किल्ड माईग्रेसन् भीजा, बिद्यार्थी भीजा, वर्कींग भीजा र टेम्पोररी वर्कींग भीजा हुन्। यीनै ती मुख्य भीजा सवक्लासहरु हुन् जस्को नियमहरु समय समयमा परिवर्तन भैरहेका हुन्छन् ।

यसरी परिवर्तन भैरहने नियमनबारे आवश्यक परामर्श नलिई अपुष्ट, असत्य र पुराना भैसकेको नियमको पछाडी लागेर हतारमा भौंतारिदा समय र धनको वर्बाद् त हुन्छ नै, संगसंगै भीजाको समयाबधि छोटिने र सकिनेसमेत हुंदा, यसले अर्को नयां समस्याको सृजना गर्दछ ।

४. कन्सल्टेन्सीको ठगी प्रवृती

अष्ट्रेलियामा, स्थाई भीजा, वर्किंग भीजा वा अन्य अस्थाई कामका भीजाको लागी सम्भावना भएका आबेदकहरुलाई गलत् सल्लाह पस्केर र भीजा रिजेक्ट हुने त्रास् देखाएर लगातार बर्षौंबर्षसम्म बिद्यार्थी भीजामा राख्ने र दुहुनो गाई वनाएर कमिसन खाईरहने कमिसनखोरहरुको विगविगी पनि छ।

नेपालबाट आउने बिद्यार्थीको हकमा, ब्याच्लर डिग्रीका लागी योग्य बिद्यार्थीहरुलाई आंफुले ४०-५०% सम्म कमिसन् पाईने लोभमा जवरजस्त परिस्थिति र प्रतिकुल वातावरणको सृजना गरी, “भेट” कोर्समा भर्ना गरिदिने गरेका छन् कन्सल्टेन्सीहरुले । त्यतिमात्र नभएर कलेज कुन पढ्ने भन्ने निर्णय पनि, जुन कलेजसंग आफ्नो सम्बन्धन् छ, कन्सल्टेन्सीले त्यहीं नै भर्ना गर्दिने गरेका छन् । यसरी ब्यावसायको नाममा बिद्यार्थीहरुको भविष्यमाथी चरम लापरवाही गर्दै आएका छन्, धेरैजसो कन्सल्टेन्सीले ।

त्यतिमात्र नभएर करोडौं असुल गरेर, नक्कली प्रमाणहरु र प्रयोजन देखाई अष्ट्रेलिया भित्र्याउने मानवतस्करहरु पनि सल्वलाई रहेको समाचारहरु बेलाबेलामा आईरहेकै हुन्छन् ।बिशेषगरी कलाकारहरुलाई कार्यक्रम गर्नका लागी बोलाउंदै गर्दा केही अर्गनाईजरहरुले लाखौंलाख असुलेर, सहयोगीको रुपमा भित्र्याएर, अन्य भीजा लज गरि अष्ट्रेलियामा नै रहने वातावरण बनाईदिने गरेको कति उदाहरणहरु हाम्रै विचमा छन्। यसले भविष्यमा जेनुईन् रुपमा आउन खोज्ने कलाकारहरुको भीजामा अप्ठ्यारो नपर्ला भन्न सकिन्न । बिगतमा कतिपय प्रशिद्ध नेपाली कलाकारहरुको भीजा रिजेक्ट भएको समाचारहरु हामीले सुन्दै आएको हो ।

यी र यस्ता कार्यले, माईग्रेसन ईन्डष्ट्रीमै रहेका र भित्रभित्रै यस्ता कर्तुत गरिरहेका गिरोहहरुको कारणले, यो ईन्डष्ट्रीमा बास्तविक सेवा दिने प्रोफेसनलहरु र वास्तविक माईग्र्यान्टहरुलाई भने पक्कैपनि प्रतिकुल असर पर्ने देखिन्छ ।

५. नक्कली विवाह

कागजी विवाह गरेर र नक्कली प्रमाणहरु देखाएर अष्ट्रेलिया आउनेहरुको संख्या पनि उल्लेख्य नै छ । कन्सल्टेन्सीले आवेदकलाई आर्थीक प्रलोभनमा पारी, लाखौं असुलेर, कलेज या यूनिभर्सिटीको फि तिरीदिने शर्तमा अष्ट्रेलिया ल्याईएका डिपेन्डेन्टहरु र कहिले बिद्यार्थीहरु आंफैपनि एक-अर्काबाट आर्थीकरूपमा पिडीत भएको,अनावश्यक रुपमा घरेलु हिंसाको मुद्दामा मुछिएको, मानसिक तनावमा समेत परि कतिपय सिरीयस् मानसिक विरामी भई नेपाल फर्केका र केहीले आत्महत्याको प्रयाश गरेका घट्नाहरु वारम्वार बाहिर आईरहन्छन् ।

६. भीजा अफिसरको गलत निर्णय

भीजा अफिसरहरुबाट पनि कहिलेकांही गल्ति हुन सक्छ – ह्युमन् ईरर् -जस्लाई कम्प्लेन्ट्स या सजेसनको माध्यमबाट सच्याउनको लागी अनुरोध गर्न सकिन्छ वा ट्रिवुनलमा अपिल गर्न सकिन्छ। तर गलत प्रकृया र नक्कली कागजात पेश गर्ने, आवश्यक विवरण र प्रमाणहरु पेश नगरेपछि एउटा आवेदनलाई मात्र नभएर, भविष्यमा त्यहांबाट गरिने अरु भीजा आबेदनलाई समेत नकारात्मक असर गर्ने गर्दछ । हालै र्यूमर फैलाईएको नेपालीहरुको भीजा रिजेक्सन्को एउटा कारण यो पनि हो ।

समाधानका उपायहरुः

१. गलत प्रकृयाद्वारा डलर कमाउने धन्दा गरिरहेका कन्सल्टेन्सीलाई कारवाही गर्ने हो भने यी र यस्ता समस्या विस्तारै कम हुंदै गएर एकदिन अन्त्य हुन्छन् ।

२. बिद्यार्थीले पनि साथीभाईको लहैलहैमा लागेर मात्र अष्ट्रेलियामा पढ्न जाने भनेर हुंदैन। अष्ट्रेलियाको जीवनपद्धति, पढाई हुने तौरतरिका , यहांको सामान्य रहनसहन, नेपाली संघसंस्था र कानुनी प्रकृयाबारे बिद्यार्थी आंफैले सोधखोज गरि बुझेर आउनुपर्दछ ।

३. हरेक बर्ष हजारौंहजार एन् ओ सी एप्रुभ गर्ने शिक्षा मन्त्रालयले कम्तिमा पनि एकदिने प्रि डिपार्चर ईन्फर्मेशन् शेसन् गर्नुपर्ने देखिन्छ ।

४. एजुकेसन् कल्सल्ट्यान्ट्सहरको संस्था ईक्यानले यस्ता संवेदनशिल विषयमा चासो लिएर सम्वन्धित निकायहरुसंग हातेमालो गरेर बाहिर पढ्न जाने बिद्यार्थीहरुलाई मेन्डाटोरी जानकारीमुलक कार्यक्रम गर्नुपर्ने देखिन्छ ।

५. बिदेस पढ्न जाने बिद्यार्थीहरुको र कामदारहरुको कम्लेन (गुनासा) र सजेसन् सुन्न र तत्सम्बन्धी कारवाही गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयले आवश्यक पहलकदम चाल्न जरुरी देखिन्छ ।

६. अष्ट्रेलियास्थित नेपाली राजदुतावासले यहांका स्थानिय संघसंस्थाहरुसंग समन्वय गरी यहांका नेपाली विद्यार्थी र अन्य नेपाली टेम्पोररी भीजाहोल्डरहरुका समस्या र गुनासाहरुलाई न्यायोचित निरोपण गर्नका लागी अग्रसर हुनुपर्ने देखिन्छ ।

अन्त्यमा,
गलत प्रकृयाबाट काम गरिरहेका बिचौलियाहरुको अबैध कार्यलाई अष्ट्रेलियामा कानुनत: रिपोर्ट गर्ने तरिकाहरु हुंदाहुदै पनि नेपालीहरु भीजा बिग्रने डरले, कानुनी झन्झटमा परिने कारणले, त्यतातिर जाने सोच्दै सोच्दैनन् ।आंफुसंग थोरैमात्र पनि प्रमाणहरु भएको खण्डमा, त्यस्ता अवैध कार्य गर्ने दलालहरुलाई कारवाहीको दायरामा ल्याउन सक्ने हो भने, भविष्यमा आधा भन्दा बढी नेपाली बिद्यार्थीहरु र अन्य भीजाहोल्डरहरुले पनि आर्थीक दु्र्व्यवहारमा पर्न र मानसिक तनाव झेल्नबाट जोगिनेछन् भन्ने कुरामा म विश्वस्त छु ।

धन्यबाद् ।
बिक्रम सुबेदी
रेजिस्टर्ड माईग्रेसन एक्स्पर्ट
क्यानबेरा

(लेखक बिक्रम सुबेदी क्यानबेराका पहिलो नेपाली माईग्रेसन एक्स्पर्ट हुन् । यस लेखमा प्रकाशित विचारहरु कानुनी सल्लाह होईनन् ।लेखकका नीजि विचारहरु हुन्। अष्ट्रेलियामा माईग्रेसनसम्बन्धी कानुनी सल्लाह चाहिएमा mara.gov.au मा गएर रेजिस्टर्ड माईग्रेसन एक्सपर्ट खोज्न सकिन्छ । )

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Add Comment *

Name *

Email *

Website

Canberra Matrix – Invitation Round (New)